हिन्दू संस्कृति र नेपाल

1.   गायत्री मन्त्र हिन्दू जाति को विशिष्ट उपलब्धि हो, परिचय हो र आस्था पनि हो । गायत्री को आविर्भाव गर्ने ऋषि विश्वामित्र हुन्, उनको वंशबोधक नाम कौशिक हो । किन भने उनी राजर्षि कुशिक का नाती हुन् । हिन्दू कर्मकाण्ड मा जब गायत्री को अनुष्ठान हुन्छ, विश्वामित्र को नाम लिनै पर्छ र ‘तत्सवितुरिति मन्त्रस्य विश्वामित्र ऋषि’ भन्नै पर्छ । यो वैदिक विधान हो र मन्त्र का आविष्कर्ता प्रति को कृतज्ञता पनि हो । इनै कौशिक विश्वामित्र को तपोभूमि मा बग्ने नदी ले स्थानीय जनता बाट महर्षि को सम्मान मा कौशिकी भन्ने नाम पाएकी हुन् र तेहि कौशिकी आज कोशी भएको हो । तर कोशी क्षेत्र को अर्को एक नदी लाई  ‘विश्वामित्रा’ भनेको (हे.महाभा.भीष्म.) पनि पाइन्छ । तेसले के देखिन्छ भने सप्तकोशी मध्ये जुन कोशी को तट मा बसेर ऋषि ले तपःसाधना गरेका थिए तेसले विशेष नाम ‘विश्वामित्रा’ पनि पायो । एसरी कोशी को मुहान मा एउटा ठूलो घटना घटित भयो गायत्री मन्त्र को सन्दर्भ मा । पछि क्रमशः नेपालभूमि का ऋषि ले प्राप्त गरेको यो पवित्र गायत्री मन्त्र विश्व का समस्त हिन्दू हरु को मूल मन्त्र बन्न पुग्यो र अब यो मन्त्र मानव मात्र को साझा मन्त्र र साझा संगीत बन्ने दौड मा छ, साझा आस्था को प्रतीक बन्न खोजी रहेछ । यो ठूलो उपलब्धि हो र कोशीतट का निवासी हामी नेपाली हरु का निम्ति यो असाधारण गौरव को विषय पनि हो । आस्था को जगत् मा यो एउटै मात्र घटना पनि एस्तो छ, जसले नेपाल को ख्याति मा ठूलो टेवा दिन सक्थ्यो, सक्छ र भोली अवश्य देला पनि, तर अहिले का हामीहरु ले भने एसतर्फ पटक्कै ध्यान दिन सकेका छैनौं ।

2.    गायत्री का सन्दर्भ मा के स्मरणीय छ भने वेद का हरेक मन्त्र लाई ओंकार ध्वनि का साथ उच्चारण गरिन्छ । अझ गायत्री का साथ त ॐकार र त्रिव्याहृति (भूर् भुवः स्वः) पनि जपिन्छ । एसरी हामी के निष्कर्ष मा पुग्छौं भने गायत्री मन्त्र प्राप्त गर्दा को गहन समाधि मा कौशिक विश्वामित्र ले ओंकार ध्वनि र व्याहृति प्राप्त गरेका थिए र ॐकार आविर्भूत भएको थियो कौशिकी को मुहान मा । नेपाल मा एति ठूलो घटना घटित भएको थियो, जसको गरिमा शब्द हरु मा व्यक्त हुन सक्दैन । एसै भएर भगवान् श्रीकृष्ण ले भगवद्गीता मा ‘ॐमित्येकाक्षरं ब्रह्म’ भन्नु भएको थियो । आज त ॐकार परिवार भन्ने एउटा विशाल समूह नै स्थापित भई सकेको छ र तेसमा आफू लाई हिन्दू मान्ने वैष्णव, शैव, शाक्त, सौर्य, स्मार्त आदि सम्प्रदाय हरु र आफू लाई हिन्दू मा मात्र सीमित गर्न नचाहने ब्रह्माकुमारी, ओशो, भगवान् सत्यसाई र कृष्णप्रणामी आदि आध्यात्मिक समुदाय हरु हरेक मा यो पवित्र ॐकार ध्वनि निर्विवाद रूप ले स्वीकृत र सम्मानित बनेको छ, तर एस महान घटना तर्फ हामीले पनि ध्यान दिएका छैनौं र विश्व को ध्यान तान्न त खोजेकै छैनौं । अरु को के कुरा स्वयं हामी बीच पनि यो घटना अविदित जस्तै छ र हामी अन्यौल मै दशदिशा धाई रहेका छौं । एसरी हाम्रो गायत्री को जन्म र तपोभूमि पूरै उपेक्षित ररहेको छ, कत्रो विडम्बना !

3.    विश्वामित्र को प्रसंग सँग महर्षि कुशिक र शकुन्तला को जन्मकथा पनि जोडिन्छ र शकुन्तला को जन्मकथा सँग कण्व ऋषि र कश्यप ऋषि को कथा आएर मिसिन्छ । वायु पुराण मा कण्व ऋषि ले याज्ञवल्क्य सँग यजुर्वेद पढेको उल्लेख हुनाले र सायण ले भाष्य गरेको एउटा वैदिक ग्रन्थ ले काण्वशाखा भन्ने नाम पाएकाले ई दुवै (कण्व र कश्यप) का आश्रम हरु पनि एहि हिमाली क्षेत्र मा कतै थिए भन्ने सहजै बुझिन्छ । एसको पुष्टि कश्यप ऋषि को आश्रम का उत्तर पट्टि देवदारु को वन भएको बाट पनि हुन्छ । पौराणिक आख्यान हरु का आधार मा ई दुवै ठूला विद्वान् थिए र कुलगुरु पनि थिए । कश्यप कै नाम बाट काश्यपी पर्वत चिनिएको थियो र तेहि काश्यपी पर्वत ले कालान्तर मा काश्की (जिल्ला) नाम पाएको थियो । यो कुरा योगी नरहरि र स्वामी प्रपन्नाचार्य आदि विद्वान् हरु ले पनि भनेका छन् । ई दुवै ऋषि को कति ठूलो व्यक्तित्व थियो भन्ने कुरा हिन्दू वाङ्मय पढ्ने हरु लाई थाहा छ । हुन त वैदिक कण्व र पौराणिक कण्व बारे विशेष अनुसन्धान अपेक्षित पनि छ, तर तेसले केहि फरक पर्दैन । एति मात्र हो कि महर्षि कण्व हिमवत्खण्ड कै थिए र ई एकदमै महत्त्वपूर्ण व्यक्ति थिए । तर हामी भने इनलाई एस्ता ठूला विभूति थिए भनेर श्रद्धा गर्नु त परै जावस् इनको नाम सम्म पनि राम्ररी जान्दैनौं । कति हाम्रा नेता हरु त एस्ता प्राच्य विभूति हरु को नाम लिन समेत लजाउँछन् ।

4.    योगी नरहरि नाथ जी आफना प्रवचन हरु मा महर्षि कुशिक ले कुश नामक वनस्पति को खोजी गरेको र तेसलाई धार्मिक कृत्य हरु मा प्रयोग गर्ने चलन चलाएको कुरा भन्नु हुन्थ्यो । पुराण हरु मा ऋषि कुशिक एक क्षत्रिय राजा भएको र उनले तपस्या गरेर ऋषित्व प्राप्त गरेको चर्चा पनि भेटिन्छ । आज विश्वभर का सनातनी हिन्दू हरु कुश को प्रयोग नगरी कुनै पनि धार्मिक कृत्य पूरा हुन्छ ठान्दैनन् । एसरी कुश को रहस्य पहिल्याउने ई कुशिक ऋषि महर्षि विश्वामित्र कै हजूरबा हुनाले र हिमवत्खण्ड मा दामोदर उपत्यका नगीचै कुशावर्त भन्ने भूभाग इनको कर्मभूमि भएकाले ई पनि एतै कतै का निवासी महान् पुर्खा थिए भन्ने देखिन्छ । हुन त हिमवत्खण्ड मा कुशावर्त हरु एकाधिक भएको हुँदा ई कुन कुशावर्त का निवासी थिए ? भन्ने प्रश्न गर्न सकिन्छ भए पनि तेसले कुशिक ऋषि र कुश वनस्पति को अस्तित्व मा सन्देह गर्ने ठाउँ दिँदै । गहिरिएर चिन्तन गर्दा हिन्दू संस्कृति को यो पक्ष पनि नेपालभूमि सँगै आबद्ध भएको ज्ञान हुन्छ र एसले हाम्रो ऐतिहासिक गरिमा निक्कै माथी पुग्छ, भन्न सहजै सक्छौं । तर हाम्रो ध्यान भने एस तर्फ पनि जान सकी रहेको छैन ।

5.    ऋग्वेद संहिता विश्ववाङ्मय कै जेठो ग्रन्थ हो । एसको ज्येष्ठता मा एशिया, यूरोप र अमेरिका आदि भूभाग का विद्वान् हरु सब एकमत छन् र खुलेरै यो कुरा भनी रहेछन् । साथै विश्व को दोस्रो, तेस्रो र चौथो ग्रन्थ पनि वैदिक संहिता हरु नै हुन् र तिनको नाम क्रमशः यजुर्वेद, सामवेद र अथर्व वेद हो भन्ने मा पनि विश्वजनमत एक छ । तर जेठा भएर ई ग्रन्थ फितला छन् कि हल्का छन् कि ? भन्ने पनि छैन । ई चारवटै वेद गहन छन्, रहस्यमय छन् र आज को विश्व लाई पनि मार्गदर्शन गर्ने खाल का छन् । यो कुरा ठूला ठूला विद्वान् हरु ले पनि भनी रहेछन् । एता ई वैदिक कृति हरु मा भने हिमवत्खण्ड का वृक्ष–वनस्पति, नदी–नाला, पहाड–पर्वत र जीव–जन्तु हरु को प्रशस्त उल्लेख छ । जडीबूटी विशेषज्ञ हरु भन्छन् वेदसंहिता हरु मा पाइने प्रायः सबै नै जडीबूटी हरु हिमाली भेग का छन् । हामी हिमाली बासिन्दा हरु का लागी यो कम गौरव को विषय हो त ? अवश्य पनि होइन । तर हाम्रो भने एस गरिमा सँग कुनै चासो छैन । ‘यस्येमे हिमवन्तो महित्वा’ अर्थात् ई हिमाली पर्वत र इनका गगनचुम्बी शिखर हरु हाम्रा गौरव हुन् वा सृष्टिकर्ता परमेश्वर को महिमा का द्योतक हुन् भनेर सगर्व उद्घोष गर्ने वैदिक उक्ति हरु तर्फ पनि हाम्रो ध्यान छैन । हामी एकदमै उदासीन छौं र हाम्रा पूर्वज का धरोहर वेद हरु हामी आर्य, किरात र अन्य विविध जाति को स्नेह का साथ  सम्झना गरी रहन्छन् उल्लेख गरी रहन्छन् भन्ने सुन्न पनि तयार छैनौं । वेद हरु हिमवत्खण्ड का बहुजाति र बहुसंस्कृति को अनेकता लाई एकता भित्रै समेटी रहन्छन् र हिमाली चक्रनदी काली गण्डकी र दुग्धधवला सेती वा शुक्ला गण्डकी को उल्लेख गर्दछन् ‘यत्र सितासिते सरिते’ आदि भनेर तथा वर्षा ऋतु मा शयौं वृक्ष बगाई दिने शतद्रु नदी हरु को पनि चर्चा गर्न बिर्सन्नन् भन्ने पनि थाहा पाउन्नौं ।

6.    श्रीमद्भागवत र महाभारत आदि प्राचीन ग्रन्थ हरु मा महर्षि शमीक लाई अत्यन्त आदरपूर्वक स्मरण गरिएको छ, ऋषि शमीक नै एउटा तेस्ता महान् व्यक्तित्व थिए, जसले आफू माथी अन्याय गर्ने लाई पनि अपार करुणा गरेका थिए र अन्याय को बदला लिन चाहने छोरा सँग अत्यन्त दुःखी समेत बनेका थिए । राजा परीक्षित ले शमीक लाई मृत सर्प को माला लगाएर गरेको अपमान र तेसको प्रतिशोध मा पुत्र शृंगी ले उक्त घटना को सातौं दिन मा तक्षक सर्प ले डसेर मर्नु पर्ने शराप दिएको सन्दर्भ मा शमीक दुःखी भएको यो प्रसंग महाभारत र भागवत दुवै मा पाइन्छ (आदिपर्व र प्रथमस्कन्ध मा) अन्य पुराण मा पनि पाइन्छ । एस्ता उदार शमीक ऋषि को आश्रम पनि कोशी को परिसर वराह क्षेत्र वरपर नै भएको वर्णन भागवत आदि ग्रन्थ हरु ले खुलेर भनेका छन् र महर्षि शमीक को भूरि भूरि प्रशंसा गरेका छन् । तर हामीले भने आज सम्म पनि ती समादरणीय महर्षि को कुनै स्मारक बनाएका छैनौं र उनको नाम सम्म पनि सम्झन सकेका छैनौं ।

7.    सनातनी हिन्दू समाज मा भागवत महापुराण को श्रवण एक अति पवित्र धार्मिक अनुष्ठान हो र जीवन मा यो आयोजन एक पटक गर्नै पर्छ भन्ने मानिन्छ । यूरोप, अमेरिका आदि मा बस्ने हिन्दू हरु मा पनि यो भावना छ । एसै भएर आज को हिन्दू जगत मा हरेक महीना हजारौं सप्ताह महायज्ञ भई रहेका हुन्छन् । अट्ठार महापुराण मध्ये भागवत जति पाठ गरिने पनि अर्को कुनै पुराण छैन । तर भागवत र महाभारत आदि कृति हरु ले गरेको वर्णन हेर्दा यो परम्परा पनि कौशिकी को तट वराह क्षेत्र बाटै शुरु भएको भन्ने स्पष्टै बुझिन्छ । परमहंस शुकदेव ऋषि ले राजा परीक्षित लाई सुनाएको ज्ञान को प्रथम यज्ञ (विश्व मै पहिलो भागवत प्रवचन) कोशीतट मै भएको थियो । एउटा अद्भुत ऐतिहासिक घटना घटित भएको थियो । तर हिन्दुस्थान मा कौशिकी नदी बारे अनभिज्ञ पण्डित हरु भागवत को कौशिकी शब्द अथ्र्याउँदा अलमलिन्छन् र कौशिकी को अर्थ गायत्री होला कि ? के होला ? भन्न थाल्छन् । मैले भागवत को विद्याकेन्द्र मानिने वृन्दावन मै पनि एस्तो सुनेको छू । तर हामी हरु ‘कौशिकी भनेको कोशी नदी नै हो’ भन्न सक्दैनौं । हुन त कोशी नदी पनि एकाधिक हुन सम्भव होला, तर कोका र कोशी को संगम पनि दोहोरिन सम्भव छैन । अहो ! हामी दुर्भाग्यवश आफनो प्राचीन गौरवगाथा हरु प्रति कसरी उदासीन छौं ?

8.    प्रायः संसार मा कुनै पनि एस्ता हिन्दू मन्दिर छैनन्, जहाँ कुनै न कुनै रूप मा शालग्राम अर्थात् शालिग्राम शिला को पूजा, अर्चना नहोस् । छिमेकी हिन्दुस्थान का काशी, मथुरा, हरिद्वार र अयोध्या आदि तीर्थ का मठ, मन्दिर र आश्रम हरु मा पनि यो परम्परा छ र यूरोप अमेरिका तिर का हिन्दू मन्दिर हरु मा पनि यो देखिन्छ । भक्त हरु र पुजारी हरु एस पवित्र शिला लाई पखालेर अत्यन्त श्रद्धा का साथ परमेश्वर को चरणामृत मानेर पान गर्दछन् । नेपाल मा पनि यो चलन व्यापक रूप मा छ । तर हिन्दूजगत मा यो परम्परा कहाँ बाट शुरु भयो ? एस तर्फ भने हाम्रो ध्यान गएको छैन, एसबारे प्रायः हामी निरपेक्ष नै छौं । हामी मध्ये कति लाई त नेपाल मा एउटा शालग्राम शिला को पर्वतै पनि छ र तहीं बाट शालग्राम प्रति श्रद्धा गर्ने भावना शुरु भयो भन्ने जानकारी पनि छैन । तर यथार्थ के हो भने नेपाल को मुस्ताङ जिल्ला मा एस्तो एउटा विशाल शालिग्राम नामक पर्वतै छ र काली गण्डकी नामक गंगाजी तेहि पवित्र पर्वत बाट प्रवाहित भएकी छन् । गण्डकी ले आफना साथ मा शालग्राम शिला को कोशेली ल्याउँछिन् र वितरण को सुविधा मिलाउँछिन् । एस गौरव को आनन्द पनि हामी लिन जान्दैनौं ।

9.    वैदिक वाङ्मय को परिशीलन गर्दा के पाइन्छ भने प्राचीन काल मा पूर्व मा कोशी र पश्चिम मा गण्डकी अनि उत्तर मा हिमालय र दक्षिण मा भागीरथी नदी एति चार किल्ला भित्र को भूमि ज्ञान विज्ञान का लागी अत्यन्त उर्वर थियो । एति भित्र पनि जति उत्तर गयो उति नै ज्ञान, विज्ञान को अवस्था उत्कर्ष मा थियो । एहि उत्कर्ष लाई संकेत गर्ने क्रम मा सम्भवतः संस्कृत मा ‘उत्तरोत्तर’ भन्ने एउटा सिंगै शब्द को आविर्भाव हुन पुग्यो । वेद, उपनिषद् को धेरै अंश एसै भूभाग मा आविर्भूत भएको थियो र रामायण, महाभारत र भागवत आदि को निर्माण पनि एसै क्षेत्र मा भएको थियो । परीक्षित ले भागवत को श्रवण पनि यहीं गरेका थिए । जवाहरलाल नेहरु ले आफनो आत्मकथा मा लेखेका छन्, रामायण र महाभारत दक्षिण एशियाली भाषा र संस्कृति का प्रेरणास्रोत हुन् र यहाँ ई दुई ग्रन्थ को अमिट छाप छ । आयुर्वेद का विशिष्ट ज्ञाता योगी नरहरि नाथ ले कतै भनेका छन् ऋग्वेद मा पाइने वनस्पति हरु मा नब्बे प्रतिशत वनस्पति हिमवत् खण्ड मै मात्र पाइन्छन् । अरु पनि धेरै काम यहाँ भएका थिए जस्तै ब्रह्मा को प्रथम वैदिक यज्ञ र अष्टावक्र र वशिष्ठ ऋषि को वेदान्त प्रवचन अनि वेदव्यास द्वारा ब्रह्मसूत्र ग्रन्थ को प्रणयन ।

10.    माथी संकेतित ब्रह्मा को प्रथम याग बारे पनि अलिकति चर्चा उठाउनु आवश्यक छ । त्यो महान् ‘प्रथम याग’ अर्थात् प्रथम यज्ञ (याग शब्द को अर्थ यज्ञ हो) कहाँ भएको थियो ? तेसको स्मरण गरौं । ऋग्वेद मा स्पष्ट शब्द मा भनेको छ ‘यत्र सितासिते सरिते संगते’ अर्थात् जहाँ सेती र काली नदी को मिलन भएको छ तेहि दोभान प्रजापति ब्रह्मा को ‘प्रथम याग’ को स्थान थियो । तर सेती र काली को संगम कहाँ छ ? एसको उत्तर हिमवत्खण्ड को गण्डकी माहात्म्य ले दिन्छ ‘सितासिते सरिच्छ«ेष्ठे देवानां अपि दुर्लभे’ भनेर । एसरी गण्डकी माहात्म्य मा स्पष्टै सेती र काली शब्द को प्रयोग भएको छ । एसबाट त्यो पवित्र दोभान देवघाट नै थियो भन्ने हामी बुझ्छौं, जसको पुष्टि वराहपुराण र पद्मपुराण ले पनि गरेका छन्, तर हामी भने धेरै निष्ठुर बनी सकेका छौं र कसैले एस्ता कुरा उठाई हाल्यो भने पनि साथ नदिने अवस्था मा पुगेका छौं ।

11.    गण्डकीतट को पुलहाश्रम र मिथिलाञ्चल को जनकपुर ई दुवै उपनिषद् युग का प्रवर्तक नै थिए । प्रातः स्मरणीय महर्षि हरु क्रमशः पुलह, क्रतु, पुलस्त्य, याज्ञवल्क्य, पराशर, विदुषी गार्गी, वेदवादिनी ऋतम्भरा, परमहंस शुकदेव, राजर्षि जनक र महर्षि अष्टावक्र आदि को आध्यात्मिक चिन्तन एसै पवित्र भूमि मा भएको थियो । महर्षि वेदव्यास को ब्रह्मसूत्र नामक प्रसिद्ध ग्रन्थ र तेस ग्रन्थ का प्रतिष्ठित व्याख्याता पूज्य जगद्गुरु हरु सर्वश्री शंकराचार्य, रामानुजाचार्य, निम्बार्काचार्य र मध्वाचार्य आदि ले जुन ब्रह्मचिन्तन मा गम्भीर ऊहापोह गर्नु भयो, तेसमा पुलहाश्रम र जनकपुर का संवाद हरु को ठूलो प्रभाव छ र योगदान छ भन्दा अत्युक्ति हुँदैन । पुलहाश्रम कृष्ण गण्डकी का तट मा थियो र मिथिला को राजधानी जनकपुर थियो । एसरी हामी देख्छौं हिन्दू संस्कृति र दर्शन का मूलभूत कुरा हरु प्रायः सबै नै हिमवत्खण्ड को केन्द्रस्थल यमुना र टिष्टा नदी का बीच को हिमवत्खण्ड मा अथवा तेसको पनि केन्द्रस्थल कोशी र गण्डकी का बीच को क्षेत्र मा नै आविर्भूत भएका थिए । के यो कम महत्त्व को प्रसंग हो ?     

12.    अब भगवान् बुद्ध र वहाँ को जन्मभूमि लुम्बिनी को स्मरण गरौं । भगवान् बुद्ध र वहाँ बाट प्रवर्तित विचार हरु का कारण हामी के थाहा पाउँछौ भने सुदूर प्राचीन (प्रागैतिहासिक) युग मा मात्र होइन, तेस पछि का युग मा पनि हिमवत्खण्ड ले विश्व लाई देन दिन बिसाएको थिएन । हुन त भगवान् बुद्ध बारे आज हामी केहि सचेत भएको अवस्था हुनाले र राष्ट्रसंघ ले पनि लुम्बिनी को विकास मा हात हाली सकेको हुनाले नेपाल का बुद्ध लाई नेपाल कै भनेर चिनाउन र भगवान् बुद्ध प्रति हार्दिक श्रद्धा व्यक्त गर्न चीन, थाइल्याण्ड, ताइवान, भियतनाम, कम्बोडिया, कोरिया, जापान र श्रीलंका आदि अनेकौं देश जुटेका पनि छन् । यो राम्रो प्रयास भएको छ, तैपनि बुद्धभूमि को प्रतिष्ठा को संवर्धन मा हामी जति जुट्न सक्थ्यौं तेति जुट्न सकेका छैनौं ।  र हामी बाट पाउनु पर्ने जस्तो उत्साह र लुम्बिनी वन ले अझै पनि पाई सकेको छैन ।

13.    नेपाली इतिहास को अतीत काल मा एति बृहत्तर काम भएका छन् कि जसको तुलना यूरोपियन समाज को भाषिक र सांस्कृतिक विकासक्रम मा ग्रीस ले गरेका काम हरु सँग गर्दा पनि पुग्दैन । यो भूमि शान्त, शीतल र ऊर्जस्वल भएकाले परम मनीषी ऋषि, महर्षि हरु को प्रमुख साधनाकेन्द्र नै थियो, जसलाई पौराणिक भाषा मा तपोभूमि भन्न सक्छौं । आज पनि छिमेकी देश का महान् अध्यात्मसाधक हरु ले नेपालभूमि तिरै पाइला बढाउने गरेका अनेकौं दृष्टान्त छन् । उदाहरण का निम्ति महान् सन्त हरिबाबा, स्वामी सच्चिदानन्द विशुद्ध देव, पूज्य शिवपुरी बाबा, आदरणीय खप्तड स्वामी र श्रद्धेय पाइलट बाबा आदि को स्मरण हामी गर्न सक्छौं । हामीले देखेका छौं ग्रीस मा महाकवि होमर ले इलियड र ओडेसी नामक काव्य लेखे र तेस अमर कृति का कारण ग्रीस पूज्य बन्न पायो यूरोप भरी । तर तेस भन्दा अघि नै हिमवत्खण्ड मा रामायण र महाभारत लेखिई सकेका थिए र ऋग्वेद को सम्पादन पनि भई सकेको थियो । तर खै त पवित्र हिमवत्खण्ड ले त्यो महान् जस पाएको ? ग्रीस का मानिस जागरुक, विद्यानिष्ठ र स्वाभिमानी भएकाले उनीहरु ले आफनो विगत को खोज गर्न र जोगाएर प्रचार गर्न कुनै कसर राखेनन् र तेहि प्रयास द्वारा विश्व मै आफू लाई चिनाउन र स्थापित गराउन सके, तेसको लाभ पनि आज पाई रहेका छन्, यूरोप अमेरिका र बाँकी विश्व मा उनीहरु को ठूलो सम्मान छ, तर हामी लाटा हरु आफना पुर्खा को योगदान पनि आफनो हो भन्न डराए जस्ता छौं र एक प्रकार ले हुतीहारा जस्तै बन्न पुगेका छौं, जसले गर्दा हाम्रो र हाम्रा आफना सन्तान हरु को समेत उत्साह र उमंग मा ठूलो घाटा परेको छ र हामी भित्र को ऊर्जा पनि गतिहीन र निस्तेज जस्तै बन्न पुगेको छ । के एस तर्फ अब पनि ध्यान नदिएर बस्न होला त ?

–मुकुन्द शरण उपाध्याय

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s